२ भदौ, । अहिले बजारमा प्याज छोइसाध्ये छैन । भारतबाट कम आयात भएपछि भाउ हृवात्तै बढेको छ । लशुन त पहिलेदेखि नै महंगोमा कारोबार हुँदै आएको हो । यही महंगो लशुन प्याजमा शरीरलाई फाइदा गर्ने महत्वपूर्ण गुण हुने चिकित्सकहरु बताउँछन् ।लशुनमा कीटाणुहरूलाई मार्ने विशेष तत्त्व हुन्छ भन्ने कुरा अमेरिकी वैज्ञानिकहरूले आफ्नो अनुसन्धानबाट देखाएका छन् । लशुनमा शरीरभित्र रहेका कीटाणुलाई मार्ने तत्त्व मात्र होइन, शरीरमा बढी मात्रामा रहेको एक प्रकारको बोसो (कोलेस्टेरोल) कम गर्ने तत्त्व पनि हुन्छ । शरीरमा कोलेस्टेरोलको मात्रा बढी बन्दा मुटुका विभिन्न रोग लाग्छन् । शरीरमा कोलेस्टेरोलको मात्रा घटाउन लशुनको उपयोगिता सिद्ध भइसकेको छ ।
यसैले मुटुका रोगीहरूका निम्ति औषधि र विशेष प्रकारको भोजनको सल्लाह दिँदा डाक्टरहरूले दिनहुँ चार पोटी लशुन खाने सल्लाह पनि दिन्छन् । यसैगरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रूपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै लशुन खाने सल्लाह दिइन्छ । लशुनमा एक विशेष प्रकारको तेल हुन्छ, जसबाट एक प्रकारको गन्ध आउने गर्छ । धेरै मानिस उक्त गन्ध मन नपरेर लशुन खाँदैनन् । तर, त्यही गन्धयुक्त तेलमा नै औषधीय गुण हुन्छ । लशुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्दत पुर्याउन सक्छ । लशुनमा हुने अनेकौं गुणहरूले नै आयुर्वेदमा यसलाई सर्वौषधि भनिन्छ ।
जनस्वास्थ्यसम्बन्धी डा. अरुणा उप्रेतीका अनुसार लशुनको गन्ध धेरैलाई मन नपर्ने भएकाले लशुनबाट औषधीय तत्त्व निकालेर क्यापसुल बनाएर बेच्न थालिएको छ । छिमेकी मुलुक भारतमा गार्लिक पल्स भनेर लशुनलाई औषधि बनाएर बेचिन्छ । यसमा लशुनको गन्ध नआउने भएकाले यसको प्रयोग धेरैले गर्छन् । हुन त यसरी प्रयोग गर्दा आर्थिकरूपले महँगो पर्ने मात्र होइन, प्राकृतिक गुणहरू समेत नष्ट हुन जान्छन् भन्ने तथ्य अनुसन्धानबाट देखिएको छ । लशुनमा भएको विशेष तेलले पेटमा रहेका कीटाणुहरूलाई पनि नष्ट पार्छ । पेट खराब भएको बेलामा लशुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझै पनि भेटिन्छ ।
लशुनमा भएको तेलले रोगसँग लड्ने क्षमता पनि बढाउँछ, जसलाई शरीरको प्रतिरोधात्मक शक्ति भनिन्छ । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकी लागिरहने समस्या हुन्छ । रुघाखोकी लागेका बेलामा लशुनको सूप बनाएर खाने चलन युरोपमा छ । शरीरको बाहिरी अङ्गमा घाउ निको पार्न पनि लशुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका रसियाली डाक्टरहरूले युद्धमा घाइते भएका सिपाहीहरूको घाउ निको पार्न लशुनको लेप प्रयोग गरेका थिए । त्यसबेला एण्टिबायोटिकको भर्खर मात्र आविष्कार भएको थियो र यसको प्रयोग आमरूपमा भइसकेको थिएन । रूसका वैज्ञानिकहरूले १ शय ५० ओटा वनस्पतिमा अनुसन्धान गर्दा लशुन र प्याजमा शक्तिशाली एण्टिबायोटिक भएको पाएका थिए । आजभन्दा २०० वर्षअघि नै प्याजमा पनि औषधीय गुण छ भन्ने कुरा पत्ता लागेको थियो । लशुनमा झैं प्याजमा पनि विशेष प्रकारको तत्त्व हुन्छ, जसले शरीरलाई रोगसँग लड्ने शक्ति दिन्छ । प्याजमा रहेको विशेष प्रकारको गन्धले रुघा लागेको बेलामा नाक खोल्न पनि मद्दत गर्छ । कतिपय युरोपेली मुलुकहरूका बासिन्दाहरू जाडोको बेलामा नाक खोल्न प्याज काटेर सुँघ्ने गर्छन् । लशुन-प्याजमा भएको विशेष तत्त्वले पखाला रोक्न पनि मद्दत गर्छ । पखाला लागेको बेलामा दही, लशुन र प्याजको मिश्रण अलिअलि गर्दै दिनमा तीन-चार चोटि ख्वाउनु उचित हुन्छ ।
प्याजको यही गुणलाई थाहा पाएर स्पेनवासीहरूले यसबाट विशेष प्रकारको घरेलु औषधि बनाएर प्रयोग गर्ने गर्छन् । यसको निम्ति प्याजलाई पातलो पारेर काटिन्छ र ती टुक्राहरूलाई सात-आठ घण्टासम्म महमा डुबाएर राखिन्छ । त्यसपछि महमा डुबाइएको प्याजलाई निचोर्दा जुन रस आउँछ, त्यसमा कागतीको रस हालेर एक-एक चम्चा दिनमा चार-पाँच चोटि खाइन्छ ।
Post a Comment