१ भदौ, काठमाडौं । सिंगापुरमा शनिबारबाट सुरु भएको एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग ३ रनले पराजित भएको छ । पछिल्ला ब्याट्सम्यानहरु नचल्दा सन् २००४ पछि अफगानिस्तानविरुद्ध पहिलो जित निकाल्ने राम्रो मौका चुकेको छ । त्यसबेला एसीसी ट्रफी प्लेट फाइनलमा नेपालले ४७ रनको जित निकालेको थियो ।
१ सय ७० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको नेपालको पारीमा वर्षाले पटक पटक खेल अवरुद्ध गरेपछि डर्क वर्थ लुइस मेथोडका आधारमा १ सय ६१ रनको लक्ष्य निर्धारण गरिएको थियो । १ सय ३१ रन बनाउँदा चौथो विकेटका रुपमा कप्तान पारस खड्का आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । जतिबेला नेपालसँग ६ विकेट थियो भने जितका लागि ८.१ ओभरमा ३० रन मात्र चाहिएको थियो । तर, त्यसपछि थप २६ रन जोड्दा ६ विकेट गुमाएपछि नेपालले जितेको खेल पनि हार्न बाध्य भयो ।
अन्तिम २ ओभरमा मात्र नेपालले ४ विकेट गुमाएको थियो । ४४ ओभरमा नेपालको स्कोर १ सय ५४ रन थियो र जितका लागि ७ रन चाहिएको थियो । तर, ४५ औं ओभरमा नेपालको स्कोर बोर्डमा २ रन जोडिँदा सागर पुन र शक्ति गौचन आउट भए । अन्तिम ओभरमा नेपाललाई ५ रन चाहिएको थियो । पहिलो बलमा बसन्त रेग्मीले १ रन लिएपनि दोस्रो बलमा चन्द्र साउथ आउट भए । तेस्रो बलमा बसन्त पनि आउट भएपछि अफगानिस्तान ३ रनको रोमान्चक जित निकाल्न सफल भयो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६० रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल र सरद भेसवाकरले समान २४/२४, सुवास खकुरेलले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बसन्त रेग्मीले ७, अनिल मण्डलले ३, सागर पुन र शक्ति गौचनले समान १/१ रन जोडे भने चन्द्र साउथ र अभिनाश कर्णले खाता नै खोल्न सकेनन् ।
यसअघि पादाङ मैदानमा टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रन बनायो । ९५ रन बनाउँदा ६ विकेट गुमाएको उसको पारी पुछारका ब्याट्सम्यानले सम्हालेका थिए । उसलाई दबावमा राख्ने क्रममा नेपालका बसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिए । अभिनाश कर्ण, चन्द्र साउथ र सागर पुनले समान १-१ विकेट लिए ।
प्रतियोगिताको समूह एमा नेपालसँगै अफगानिस्तान तथा भारत र पाकिस्तानको २३ वर्षमुनीको टोली छ ।
Post a Comment