काठमाडौ, भाद्र २ - मेरो लिंगको अघिल्लोपट्टिको छाला (लिंगको टुप्पो) खुलेको छैन। पिसाब गर्दा छालाको भाग फुल्छ, तर पीडा भने छैन। यो समस्याले मलाई चिन्तित तुल्याइएको छ यसको समाधान के होला ? ४७८०
तपाईंको समस्या के हो ?
हामी सबैलाई थाहै छ कि हाम्रो लिङ्गलाई छालाले ढाकेको हुन्छ। बाल्यकालमा उक्त छाला लिङ्गको मुण्डसँग टाँसिएको हुन्छ तर पछि ठूलो हुँदै गएपछि छुट्टिएर आए पनि त्यसको एक भाग भने लिङ्ग मुण्डको तलतिर टाँसिएको हुन्छ। यो सामान्य हो तर पनि वयस्क भएपछि यसलाई पछाडितिर फर्काउन कुनै अप्ठ्यारो हुँदैन, यद्यपि कसै-कसैमा यसमा भएको प्वाल सानो हुन्छ र पछाडितिर फर्काउन सकिँदैन। यस्तो अवस्थालाई हामी Phimosis भन्छौं। तपाईंले पिसाब फेर्दा पनि फुल्ने कुरा गर्नुभएको छ। प्रायःजसो यस्तो समस्या जन्मजात नै हुन्छ। कहिलेकाहीँ लामो समयसम्म संक्रमण हुँदा पनि यस्तो समस्या देखा पर्न सक्छ। तपाईंको सन्दर्भमा यो समस्या जन्मजात नै भएको मानेको छु।
उपचार नगरे के होला ?
लिंग बाहिरी छालाको प्वाल साँगुरिएको पनि अलि बल प्रयोग गरेर पछाडि त फर्कायो तर फेरि अघि ल्याउन सकिएन भने समस्या हुन्छ। उक्त छालाको साँगुरो भएको भागले लिंङ्गको मुण्डमा कसिलो ब्यान्डजस्तै बनेर दबाब दिन्छ र उक्त भाग सुन्निन्छ। यस्तो अवस्थालाई Paraphimosis भनिन्छ। तुरुन्तै यो अवस्थाको उपचार गर्न सकियो भने शल्यक्रियाबिना नै पनि उपचार गर्न सम्भव छ, तर धेरै नै सुन्निसकेको छ भने यो कसिलो ब्यान्डलाई काट्नैपर्ने हुन्छ। यस्तो सुन्निएको अवस्थामा छालालाई राम्रोसँग मिलाउन अलि अप्ठ्यारो पर्ने भएकाले बाँकी नमिलेको छाला काट्नु पर्ने पनि हुन्छ।
तपाईंले भन्नुभएजस्तै कहिलेकाहीँ उक्त छालामा भएको प्वाल निकै सानो हुन्छ र पिसाबको धारा पनि राम्रोसँग आउँदैन। पिसाब गर्दा टुप्पाको छालामा पिसाब भरिएर फुलेर आउँछ र पछि बिस्तारै पिसाबको मसिनो धारा बाहिर निस्कन्छ। उक्त छालाको प्वाल निकै सानो छ भने मूत्र प्रणालीमा केही असर पर्न सक्छ। एक त जहिले पनि पिसाब फेर्न नै गाह्रो हुने भयो। मूत्रथैलीमा भएको सबै पिसाब पनि बाहिर ननिस्किई केही पिसाब मूत्रथौलीमै बाँकी रहन्छ। विरलै भए पनि Phimosis का कारणले मृगौला वा मृगौलादेखि मूत्रथैलीसम्म पिसाब ल्याउने नलिलाई पनि असर गर्न सक्छ। यद्यपि यस्ता असरहरू Phimosis को कारणले भन्दा पनि मूत्रनली नै साँगुरो भएको कारणले हुन्छ।
यदि छाला मुण्डलाई जहिले पनि छोपिराख्ने अवस्थामा छ भने आवश्यक सरसफाइ हुन सक्दैन र संक्रमण तथा अन्य गम्भीर अवस्था आउन सक्ने खतरा हुन्छ।
कसरी छुट्कारा पाउने ?
यो समस्याबाट छुटकारा पाउन सकिन्छ। Phimosis को उपचार साधारण शल्यक्रिया अर्थात् काट्नु नै हो जसलाई हामी Circumcision भन्छौं।
शल्यक्रिया गरिनुपर्ने मुख्य कारण यौनसम्पर्कका बेलामा यसैको कारणले केही बाधा उत्पन्न हुनु हो। तपाईंको प्रश्न हेर्दा हालसम्म यौनसम्पर्क राख्नु भए-नभएको स्पष्ट छैन। हस्तमैथुन गर्नुभएको छ भने त्यसमा कुनै समस्या भए नभएको पनि थाह भएन। मुख्य कुरा के भने अग्रचर्म -बाहिरी छाला) लाई पछाडितिर फर्काउन नसक्दा लिङ्ग उत्तेजित हुँदा असजिलो हुने वा सम्भोग गर्दा नै अप्ठ्यारो हुन सक्छ। उपचार पछि यौन सम्पर्क राख्न बाधा पर्दैन त्यसैले डराउनु पर्ने स्थिति छैन।
यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनु पर्दैन। वास्तवमा यस्ता किसिमका शल्यक्रिया १०/१५ मिनेटमै सम्पन्न हुन्छ। शल्यक्रिया गर्दा बेहोस गर्नुपर्ने आवश्यकता पनि पर्दैन। पीडा मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ। शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ। शल्यचिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधीको सेवन गर्नुपर्ने हुनसक्छ। त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुनः शल्यचिकित्सक कहाँ आउनुपर्छ। यस किसिमको शल्यक्रियाको खर्च पनि धेरै पर्दैन। उपचारका लागि अस्पताल वा अन्य स्वास्थ्यसंस्थाहरूमा गएर शल्य चिकित्सा विभागमा वा शल्यचिकित्सकसँग सम्पर्क राख्नु उपयुक्त हुन्छ।
–डा. राजेन्द्र भद्रा
+ comments + 2 comments
I have this problem . I want to meet dr.rajendra bhadraa what can I contact him
?
mali same problem xa. yash ko kharcha kati aucha sir
Post a Comment