पिसाब थैलीको क्यान्सर
-डा. अर्जुनदेव भट्ट
पछिल्लो १५ वर्षमा धूमपान तथा सुर्तीजन्य वस्तुको चर्को प्रयोगबाट पिसाब थैलीको क्यान्सरमा पुरुष तथा महिला दुवैमा निकै वृद्धि भएको प्रस्ट छ । १५ वर्षअगाडि वीर अस्पतालजस्तो ठूलो उपचार केन्द्रमा पनि वर्षमा करिब ५० रोगी यसबाट पीडित पाइन्थे । अहिले देशका थुप्रै अस्पतालहरूमा क्यान्सर रोगीहरूको उपचार भइरहेछ र विशेष गरेर अर्बुद रोग केन्द्रहरुमा यस्ता बिरामीहरूुको ठुलो अनुपातमा विशिष्ट शल्यकि्रया तथा विकिरण र केमोथेरापी भइरहेछ ।
पुरुषमा पिसाव थैलीको क्यान्सर बढी हुने भए पनि महिलाहरूले धूमपानको कुलत अम्मलीमा आफूलाई पुरुषजस्तै संलग्न राख्दा उनीहरूमा पनि यो रोग पुरुषकै हाराहारीमा देखा पर्छ । टाउको तथा शरीर दुख्दा अनियन्त्रित रूपमा फेनासेटिन जस्ता औषधिको दुरुपयोग पूर्ण प्रयोग गरेर पिसाब थैली क्यान्सर हुन सक्ने सम्भावना निकै वृद्धि हुने गर्छ । पिसाब थैलीमा लामो समय पत्थरी हुने व्यक्तिहरूमा पनि क्यान्सरको प्रबल सम्भावना हुन्छ । मृगौला प्रत्यारोपणपछि साइक्लोफोर्फामाइड नामको औषधि प्रयोग गर्दा पनि पिसाब थैलीको क्यान्सरको सम्भावना बढ्छ । नदुख्ने गरी पिसाबमा आँखाले देख्ने गरी नै रगत गएमा पिसाब थैली क्यान्सरको सम्भावना प्रबल रहन्छ । यस्ता बिरामीहरू धूमपान वा सुर्तीजन्य पदार्थको अम्मली भए क्यान्सरबारे अझै बढी शंका लिनुपर्छ ।
क्यान्सर हुँदा सुरुसुरुमा रगत जाने सधैं नभएर महिनांैको फरकमा हुन्छ । त्यसैले पिसाबको रातोपनामा सतर्कता अपनाउनुपर्छ । पिसाब पोल्ने भई पिसाबमा रगत जाने र संक्रमणको उपचार बारम्बार गर्दा पनि कमी नहुने र रक्तस्राव यथावत् रहे पिसाब थैलीको क्यान्सरको झनै बढी शंका लिनुपर्छ । पिसाबमा रगत जाँदा त्यसको कारण क्यान्सर होइन भनेर यकिन हुन आम जनता र स्वास्थ्यकर्मीहरू सबैले उच्च सतर्कता अपनाउनैपर्छ र यो सिद्धान्तलाई व्यवहारमा लागू गरेका खण्डमा पिसाब थैली क्यान्सरको समयमै निदान हुने सम्भावना ज्यादै उच्च रहन्छ । मूत्र प्रणालीको क्यान्सरमध्ये पिसाब थैलीको क्यान्सर दोस्रो स्थानमा रहेको छ । यो रोग जुनसुकै उमेरमा देखा पर्न सक्ने भए पनि सबैभन्दा बढी ५० देखि ८० वर्षभित्रै हुने गर्छ । अल्ट्रासोनोग्राफीको जाँच गरेर धेरैजसो बिरामीहरूको पिसाब थैलीमा क्यान्सर भए नभएको जानकारी पाउन सकिन्छ तर पनि क्यान्सर ज्यादै सानो अवस्थामा भए त्यो नदेखिन पनि सक्छ । त्यसैले यो विधिबाट पिसाब थैलीको क्यान्सर छैन भनेर ठोकुवा भने गर्न मिल्दैन । मूत्र प्रणालीबाट निस्कने औषधिको प्रयोग गरेर बिरामीको एक्सरे गर्दा पिसाब थैलीमा क्यान्सर भए नभएकोबारे महत्त्वपूर्ण सूचना उपलब्ध गर्न सकिन्छ । सिटी स्क्यानले ज्यादै सानो क्यान्सर देखाउन नसके पनि एक्सरेले देखाउन नसकेको क्यान्सरलाई बढी मात्रामा देखाउन सक्छ र क्यान्सरको जरो फैलिएर पेटका विभिन्न भागतिर गएको छ भने त्यो पनि पत्तो लाग्न सक्छ । सिस्टोस्कोपी पिसाब थैलीको क्यान्सर निदानका निम्ति एउटा ज्यादै नै महत्त्वपूर्ण विधि हो । खास गरेर पिसाब नपोलेरै रक्तस्राव भइरहेका खण्डमा कुनै पनि एउटा विधिबाट त्यो अवस्थाको कारण थाहा नभए प्रायः सबै विधिहरूबाट रोग निदान गर्न प्रयास जारी राख्नुपर्छ । पिसाब थैली क्यान्सरको उपचार विभिन्न विधिहरूबाट हुने गर्छ । हाल क्यान्सरको शल्यक्रिया प्रायः अति आधुनिक औजारबाट हुने गर्छ तर त्यस्ता औजारको प्रयोग गर्न सक्ने जनशक्तिको संख्या भने ज्यादै सीमित छ । यस्ता खालका शल्यक्रियामा दक्ष जनशक्ति तयार पार्न सरकारी तथा निजी शिक्षण अस्पतालहरूले विशेष ध्यान नगर्ने हो भने निम्नमध्यम तथा निम्नस्तरका बिरामीहरूलाई शल्यक्रिया पहुँचभन्दा बाहिरको रहनेछ । शल्यक्रियापछि पनि बिरामीहरूलाई निरन्तर सिस्टोस्कोपी जस्ता विधिबाट अनुगमन गरिराख्नुपर्ने भएकाले दक्ष जनशक्तिको कमी झनै खस्कने हुन्छ । अनुगमनका सिलसिलामा शल्यक्रिया फेरि गर्नुपर्ने वा उपचारका अरू विधिहरूलाई समावेश गराउनु पर्ने निर्णय लिन सक्ने जनशक्ति देशका सबै शिक्षण अस्पतालमा हुनु अति आवश्यक छ । शल्यक्रियाबाट मात्र उपचार हुन नसक्ने बिरामीहरूलाई विकिरण प्रविधि, बीसीजी थेरापी र केमोथेरापीबाट थप राहत मिल्न सक्छ । यी सेवा सीमित संस्थामा मात्र उपलब्ध भएकाले बिरामीहरूको चाप ज्यादै उच्च छ । पिसाब थैलीको क्यान्सरलाई न्यूनीकरण गर्न धूमपान र सुर्तीजन्य पदार्थबाट टाढै रहन सबैले प्रयत्न गर्नुपर्छ । नदुख्ने गरी पिसाबमा रगत गए त्यो पिसाब थैलीको क्यान्सरबाट होइन भनी जँचाउनुपर्छ भन्ने सन्देश आम जनतामा पुग्नु अति महत्त्वपूर्ण छ ।
[लेखक वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।]
Post a Comment